बजेट निर्माण, समिति र सहभागी निकायहरू
बजेट कसरी बन्छ ?
- सरकारको वार्षिक योजनाबद्ध खर्च, अनुमानित राजस्व र आउँदो वर्षको नीति प्राथमिकतालाई बजेटमा समेटिएको हुन्छ । सरकारका नीति र प्राथमिकता प्रतिबिम्बित हुने हुनाले बजेटलाई राजनीतिक दस्तावेज पनि भनिन्छ । बजेटअघि सरकारले संसद्समक्ष राष्ट्रपतिमार्फत् सरकारको नीति तथा कार्यक्रम पेश गर्दछ, जसबाट सरकारले बजेटमार्फत् के कस्ता नीति तथा कार्यक्रमहरू पेश गर्न लागेको छ भन्ने सहज अनुमान गर्न सकिन्छ ।
- सरकारका नीति तथा कार्यक्रम र बजेट दीर्घकालीन योजना अनुसार निर्देशित हुन्छन् । बजेट निर्माणमा राज्यको प्राथमिकता पहिचान गरी आम्दानीका स्रोतहरू परिचालन गरिने भएकाले राज्यको आम्दानीलाई प्राथमिकताका
आधारमा खर्च गर्न योजना बनाउने क्रियाकलापहरू पनि बजेट निर्माणका अभिन्न अंग हुन् । सरकारले राष्ट्रिय योजना आयोगमार्फत् आवधिक (त्रिवर्षीय तथा पञ्चवर्षीय) योजना निर्माण गर्ने गर्दछ र बजेट निर्माण गर्ने क्रममा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले यिनै प्राथमिकतालाई केन्द्रमा राखेर बजेटको प्रारम्भिक खाका तयार गरेका हुन्छन् ।
बजेट निर्माणमा को-को सहभागी हुन्छन् ?
- बजेट निर्माणका लागि विभिन्न निकायहरूको सहभागितामा बजेट समिति र स्रोत समितिको व्यवस्था गरिएको हुन्छ । बजेट समितिले विभिन्न मन्त्रालयबाट सिफारिश भईआएका कार्यक्रम तथा सार्वजनिक खरिद योजनाको स्वीकृति
- दिने काम बजेट समितिले गर्छ भने स्रोत समितिले प्रस्तावित कार्यक्रमका लागि स्रोत खोज्ने (उपलब्ध गराउने) काम गर्छ ।
बजेट समिति
» उपाध्यक्ष, राष्ट्रिय योजना आयोग — अध्यक्ष
» सदस्य (बजेट हेर्ने), राष्ट्रिय योजना आयोग — सदस्य
» सदस्यहरू, राष्ट्रिय योजना आयोग — सदस्य
» गभर्नर, नेपाल राष्ट्र बैंक — सदस्य
» सचिव, अर्थ मन्त्रालय — सदस्य
» सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय — सदस्य
» महालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय — सदस्य
» महाशाखा प्रमुख, राष्ट्रिय योजना आयोगको सचिवालय — सदस्यसचिव
स्रोत समिति
»सदस्य (बजेट हेर्ने), राष्ट्रिय योजना आयोग — संयोजक
»महाशाखा प्रमुख (राजस्व हेर्ने), अर्थ मन्त्रालय — सदस्य
» महाशाखा प्रमुख (वैदेशिक सहायता), अर्थमन्त्रालय — सदस्य
» महाशाखा प्रमुख (बजेट तथा कार्यक्रम महाशाखा), अर्थ मन्त्रालय — सदस्य
» प्रतिनिधि, नेपाल राष्ट्र बैंक — सदस्य
» प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालय — सदस्य
» महाशाखा प्रमुख, आर्थिक व्यवस्थापन महाशाखा, राष्ट्रिय योजना आयोग — सदस्यसचिव
- बजेट निर्माणको क्रममा अर्थमन्त्रालयले सबै मन्त्रालयसँग राजनीतिक र प्रशासनिक तहमा छलफल गर्दछ । यसबाहेक राजनीतिक दल, पूर्व अर्थमन्त्रीहरू, अर्थसचिवहरू, योजना आयोगका पूर्वउपाध्यक्ष र सदस्यहरूसँग पनि छलफल गरिन्छ भने निजी क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाहरूसँग छलफल गरी रायसुझाव लिने चलन छ । बजेट निर्माणमा अर्थ मन्त्रालयको प्रमुख भूमिका रहन्छ । अर्थमन्त्रालय मातहतको बजेट तथा कार्यक्रम महाशाखाले बजेट निर्माण प्रक्रियामा संयोजनकारी भूमिका निर्वाह गर्दछ ।
- मुलुक संघीय व्यवस्थामा प्रवेश गरेपछि प्रदेश र स्थानीय सरकारले पनि आ-आफ्नो बजेट निर्माण गरी प्रदेशसभा र गाउँ तथा नगरसभामा पेश गर्नुपर्छ । संघीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० गते भित्र सम्बन्धित प्रदेश सभा तथा गाउँ र नगर सभामा बजेट पेश गरिसक्नुपर्छ ।