नेपाल राष्ट्र बैंक : मुलुकको केन्द्रीय बैंक
राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकाले यसले मूलत : मुलकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई ‘मौद्रिक अधिकारी’ र ‘नियामक निकाय’ पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने, मौद्रिक नीतिको सञ्चालन गर्ने, सरकारको बैंक तथा बैंकहरूको बैंकका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । हरेक मुलुकमा एउटा मात्र केन्द्रीय बैंक रहन्छ । यसको अर्थ कुनै पनि मुलुकको मौद्रिक प्रणाली एकै खालको हुने गर्दछ । नेपाल राष्ट्र बैंक नेपालको वित्तीय प्रणालीको नियामक तथा सुपरिवेक्षकीय निकाय हो । नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन गरिएको थियो ।
नेपाल राष्ट्र बैंकको दूरदृष्टि (Vision) र लक्ष्य (Mission) :
दूरदृष्टि (Vision) – आधुनिक, गतिशील, विश्वसनीय एवम् प्रभावकारी केन्द्रीय बैंक
लक्ष्य (Mission) – सबल तथा प्रभावकारी मौद्रिक, विदेशी विनिमय एवम् वित्तीय क्षेत्र नीतिहरूका माध्यमबाट समग्र आर्थिक स्थिरता कायम राख्ने ।
नेपाल राष्ट्र बैंकका उद्देश्यहरू
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ मा उल्लेख भएअनुसार नेपाल राष्ट्र बैंकका उद्देश्यहरू यस प्रकार छन्:
- आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय तीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,
- वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने,
- सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने ।
नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकार
नेपाल राष्ट्र बैंक ऐन, २०५८, दफा ५ मा उल्लेख भएबमोजिम नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकारहरू यस प्रकार छन् :
- बैंक नोट तथा सिक्का निष्कासन गर्ने,
- मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने,
- बिदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने,गराउने,
- बिनिमय दर पद्धति निर्धारण गर्ने,
- विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने,
- वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैंकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारका सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
- नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टका रूपमा कार्य गर्ने,
- वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम क्रणदाताका रूपमा कार्य गर्ने,
- भुक्तानी, फर्छयाट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पर्द्धातको स्थापना तथा प्रवर्द्धन गरी सो कार्यलाई नियमित गर्ने,
- तरलता व्यवस्थापनका निमित्त आवश्यक उपकरणका माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने,
- बैंकको उद्देश्य हासिल गर्नका निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरू कार्यान्वयन गर्ने, गराउने