राष्ट्रिय कृषि गणना, २०७८ को नतिजा
कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ ।
हालै २०८० सालमा सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो ।
कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ।
कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको थियो।
कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता सङ्ख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।
राष्ट्रिय कृषि गणना २०७८ को नतिजा अनुसार नेपालमा राँगा र भैँसीको कुल संख्या २९ लाख २३ हजार रहेको छ । २०६८ को गणनामा भैँसीको संख्या ३१ लाख ७४ हजार रहेकोमा १० वर्षमा राँगा र भैँसीको संख्या २ लाख ५१ हजारले घटेको हो । राँगा र भैँसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएपनि उन्नत राँगा भैँसी भने १२ प्रतिशतले बढ्न गएको उल्लेख छ ।
२०६८ सालमा राँगा र भैँसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या २ लाख ५२ हजारले घटेर १४ लाख १७ हजारमा सिमित भएको छ । ६३ लाख रहेका गाईगोरु पनि पछिल्लो १० वर्षमा घटेर ४६ लाख पुगेको छ । पछिल्लो १० वर्षमा गाई गोरु,राँगा र भैँसी घटेपनि बाख्रा र च्याङ्गा भने १ करोड १० लाखबाट बढेर १ करोड ४२ लाख पुगेको छ ।
सुँगुर र बँगुर पनि ८ लाखबाट बढेर १४ लाख पुगेको तथ्याङले देखाएको छ । गाईको संख्या घटेपनि उन्नत गाईको संख्या भने ४२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
कृषि उत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेका छन् । नेपालमा उत्पादन गरेको सबै वस्तु बच्ने किसान १ प्रतिशत मात्रै रहेको तथ्याङमा देखिएको छ । कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत रहेहेको तथ्याङ्कले देखाएको छ ।
कृषि गणना २०७८ अनुसार नेपालका १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएको देखिएको छ । कृषि ऋण लिनेहरु २०६८ मा २२ प्रतिशत रहेको थियो ।
कृषि बीमा गर्ने कृषकहरुमा ४ प्रतिशत मात्रै रहेको छ ।सरकारी अनुदानमा लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्रै रहेको र ९३ प्रतिशत किसानहरु सरकारी अनुदानमा बेखबर रहेको पाइएको छ । गणना अनुसार मुख्य कृषक पुरुष हुने क्रम बिस्तारै घट्दै गएको छ । २०७८ को कृषिगणना अनुसार मुख्य कृषक महिला ३२ प्रतिशत रहेको छ।
कृषक परिवारले १२,०९,२६५.५ हेक्टर जग्गामा सिँचाई सुविधा लिएको देखिएको छ । कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाई सुविधा उपयोग भएको देखिन्छ । तर अघिल्लो कृषिगणना २०६८ मा सिंचाई सुविधा उपयोग भएको गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । गणनाका अनुसार सिंचाई सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषि गणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो ।
नेपालका करिव ४० लाख परिवार खेतीपातीमा आवद्ध भएको पाइएको छ । कृषि गणनाअनुसार ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र एक लाख ३२ हजारले पशुपंक्षी पालन गरेको पाइएको छ । छैटौं गणना २०६८ मा ३७ लाख १६ हजार परिवारले खतीपाती गरेको र एक लाख १६ हजारले पशुपंक्षी मात्रै पालेका थिए । अहिले यो परिवार संख्या बढेको पाइएको छ ।
राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । कृषिगणना अनुसार कृषक परिवारको संख्या बढेपनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ । हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ । अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषिगणनाले देखाएको छ । कृषि गणना २०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ । कृषिगणना २०७८ ले नेपालमा कृषिकार्यको लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर भएको देखाएको छ ।
कृषि गणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषि गणना २०७८ ले यो सङ्ख्या झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो । पछिल्लो १० वर्षको अवधिमा ४ लखा ७१ हजार २६० कृषक परिवारले कृषि कार्यका लागि पावर ट्रिलर प्रयोग गरेको र १ लाख १७ हजार ९९१ वटा पावर ट्रिलर सञ्चालनमा रहेको देखिन्छ । २०६८ र २०७८ दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको सङ्ख्यामा उल्लेखनीय रूपमा गिरावट आएको छ ।