बेरूजु र यसका प्रकार
बेरुजु परिचय
- रुजु हुन नसकेको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ ।
- रितपूर्वक नभएको आर्थिक कारोबार नै बेरुजु हो ।
- प्रचलित कानून एवं लेखाको सिद्धान्त विपरित भएको कारोबारलाई बेरुजु भनिन्छ ।
- यो कमजोर वित्तीय व्यवस्थापनको उपज हो ।
- बेरुजुले आर्थिक पारदर्शिता र सुशासनमा प्रत्यक्ष असर पुग्याउँदछ ।
बेरुजुका प्रकार
बेरुजुका प्रकारलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
क) सैद्धान्तिक बेरुजु
- रकमको लगत नरहेको बेरुजु सैद्धान्तिक बेरुजु हो।
- यो नीतगत सुधारको लागि औंल्याईएको बेरुजु हो।
ख) लगती बेरुजु
- लेखापरीक्षणको प्रतिवेदनको लगत महलमा रकम उल्लेख भएको बेरुजु नै लगती बेरुजु हो ।
- यो असुल उपर गर्नुपर्ने बेरुजु हो ।
- लगत बेरुजुलाई पनि विभिन्न भागमा विभाजन गर्न सकिन्छ । जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
-असुल गर्नुपर्ने बेरुजु
प्रचलित कानून वा प्रमाण कागजातबाट पुष्टि हुने भन्दा कम असुली गरेको, असुल गरेभन्दा कम आम्दानी बाँधेको वा बढी भुक्तानी दिएको , हिनामिना वा हानि नोक्सानी पारेको कारण असुल उपर गर्नुपर्ने बेरुजु नै असुल उपर गर्नुपर्ने बेरुजु हो।
-अनियमित भएको बेरुजु
सम्बन्धित कानूनदवारा निर्धारित प्रकृया एवं रित नपुन्याएका कारण सृजित बेरुजु नै अनियमित भएको बेरुजु हो।
-प्रमाण पेश नभएको बेरुजु
कारोबारलाई पुष्टी गर्ने कागज एव भरपाई नभएको कारण सृजित बेरुजु नै प्रमाण पेश नभएको बेरुजु हो ।
-जिम्मेवारी नसारेको बेरुजु
नियमानुसार आगामी वर्षलाई जिम्मेवारी सार्नुपर्ने नगदी, जिन्सी, धरौटी जस्ता लगतलाई जिम्मेवारी नसारेबापत सृजित बेरुजु नै जिम्मेवारी नसारेको बेरुजु हो ।
-सोधभर्ना नलिएको बेरुजु
सापटी दिएको तथा बैदेशिक स्रोतबाट वेहोरीने गरी भएको खर्च यथासमयमा सापटी फिर्ता नभएको वा सोधभर्ना नगरिएको कारण सृजित बेरुजु नै सोधभरनी नलिएको बेरुजु हो ।
-पेश्की बाँकी बेरुजु
समयमा पेश्की फर्छ्यौट नभएको कारण सृजित बेरुजु नै पेश्की बाँकी बेरुजु हो ।
अतः बेरुजुलाई यसको प्रकृति र स्वरुप अनुसार विविध प्रकारमा विभाजन गर्न सकिन्छ ।